अरुण कुमार नेपाली
१३ पुस २०७९ बुधबार
दाङ— लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले लुम्बिनी प्रदेशमा नेकपा एमालेले नै सरकारको नेतृत्व गर्ने बताउनु भएको छ । बुधबार नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १३ नं.वडा कमिटीले गरेको सम्मान कार्यक्रममा शर्माले ठुलो दलको हैसियतले लुम्बिनी प्रदेशमा एमालेकै अगुवाईमा सरकार बन्ने बताउनु भएको हो । माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरे पनि अन्ततः सहमतिकै आधारमा एमालेको नेतृत्वमा सरकार बन्ने उहाँको भनाई थियो ।‘माओवादी केन्द्रले पनि सरकारको दाबी गरिरहेको छ,यसलाई अन्यथा लिनु हुदैन,उहाँले भन्नु भयो,लुम्बिनी प्रदेशमा पनि जनमत एमालेकै पक्षमा भएकाले हाम्रै पार्टीको नेतृत्वमा सरकार बन्छ।’
निर्वाचन जितेर आएका अन्य सानादललाई पनि सरकारमा सहभागी गराउनका लागी छलफल भईरहेको सांसद शर्माले बताउनु भयो । लुम्बिनी प्रदेशमा पनि कुनै दलको एकल बहुमत नभएकाले साना दललाई सरकारमा सभागी गराउनुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले जनताको जनमतलाई कदर गर्दै आफू आहोरात्र विकासको काममा खटिने समेत बताउनु भयो । जनताले हामीलाई जुन म्याण्डेट दिएका छन्,त्यसको कदर गर्नु पर्छ,उहाँले भन्नु भयो,अबको पाँच वर्षलाई पूर्ण विकास निर्माणको काममा सदुपयोग गर्नु पर्छ ।’
एक फरक प्रसङ्गमा सांसद शर्माले आफ्नो मन्त्री बन्नका लागी आफू मरिहत्ते नगर्ने बताउनु भयो । तर अवसर प्राप्त भए मन्त्रालय सम्हाल्न पछि नपर्ने उहाँको भनाई थियो । ‘मन्त्री बन्नै पर्ने स्थिति आएमा कृषि मन्त्री बन्छु,किनकि म पनि किसान हुँ । किसानको समस्या के हुन राम्रोसंग बुझेको छु,नेपालको अर्थतन्त्रको मुख्य आधार पनि कृषि नै त्यसैले म कृषि मन्त्री बन्न चाहान्छु उहाँले भन्नु भयो ।’शर्मा लुम्बिनी प्रदेशको समानुपातिक सांसद हुनुहन्छ । उहाँलाई दाङ क्षेत्र नं.३ बाट नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा समानुपातिकबाट सांसद बनाएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका १३ नं.का वडाध्यक्ष मोहन पौडेलले वडाको विकासका लागी लागी आवश्यक सहयोग र पहल गर्न सांसद शर्मालाई आग्रह गर्नु भएको थियो । वडाको बजेटले मात्र यस क्षेत्रको विकास सम्भव नभएकाले लुम्बिनी प्रदेशमा जो सुकैको नेतृत्वमा सरकार बने पनि आवश्यक पहल गरिदिन आग्रह गर्नु भएको थियो ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १३ नं.वडा कमिटी अध्यक्ष खिमकान्त पाण्डेका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले नगरकमिटी सदस्य देब बहादुर बि.क.,हुम बहादुर नेपाली काशिराम खड्का लगायतले फूलबारीको समस्याका विषयमा कुरा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव गोबिन्द सुवेदीले गर्नु भएको थियो ।