कर्तव्य पालनाबाहेकको अवस्थामा प्रहरी अधिकारीले नेता तथा कूटनीतिक नियोगका व्यक्तिलाई भेट्दा पूर्वस्वीकृति लिनुपर्ने भएको छ। गृह मन्त्रालयले प्रहरी अनुशासनमा कडाइ गर्न यस्तो निर्देशन दिएको छ।
संगठनको कामबाहेकको अवस्थामा भेटघाटका लागि स्पष्ट प्रयोजनसहित विभागीय स्वीकृति लिनुपर्ने गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसको प्रभावकारी कार्यान्वयन गर्न र अनुगमन गर्न गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएको छ।
कसैले अनुमतिविना भेटेमा अनुशासनसम्बन्धी कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी छ। सरुवा–बढुवाका लागि नेताको घर चहार्ने प्रवृत्ति रोक्न यस्तो आचारसंहिता पालना गराउन लागिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए। नवनियुक्त गृहमन्त्री रवि लामिछानेले आचारसंहितामा कडाइ गर्न थालेका हुन्।
