अरुण कुमार नेपाली
१७ पौष २०७९ आइतबार
दाङ—लुम्बिनी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हलमा आइतबार दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।शेरचनले प्रदेश सभाका ८७ सांसदलाई शपथ गराएका हुन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन् । प्रदेशसभामा ११ दलको सहभागिता छ ।२९ सिट ल्याएको नेकपा एमाले प्रदेश संसदमा सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । नेपाली कांग्रेस २७ सिट सहित दोस्रो दलको रुपमा रहेको छ ।यसैगरी ९ सिट ल्याएको माओवादी केन्द्र तेस्रो स्थानमा छ । प्रदेशसभामा चौथो दलका रूपमा नागरिक उन्मुक्ति पार्टी र राप्रपा रहेका छन् ।
उनीहरुले समान ४/४ सिट प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी ,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पाटीले पनि समान सिट प्राप्त गरेका छन् ।उनीहरुले समान ३/३ सिट प्राप्त गरेका छन् ।एकिकृत समाजवादीले लुम्बिनीमा प्रत्यक्ष तर्फ भने उम्मेद्वारी नै दिएको थिएन ।प्रत्यक्षमा उम्मेदवारी नदिए पनि एकिकृत समाजवादीले समानुपातिकबाट १ जना सांसद प्राप्त गरेको छ । प्रत्यक्षमा नजिते पनि राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक जना सांसद निर्वाचित भएका छन् । त्यस्तै लुम्बिनी प्रदेश सभामा ३ जना स्वतन्त्र सांसद छन् ।स्वतन्त्रका तीनै जना सांसद प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् ।पद तथा गोपनियताको सपथ ग्रहण सकिएसंगै अब दलहरुले संसदीय दल चयन गर्ने छन् ।
संघमा सरकार निर्माणमा नयाँ समिकरण बनेपछि अब लुम्बिनी प्रदेशमा पनि सोही बमोजिम सरकार निर्माण हुने छ। मख्यतयाः लुम्बिनी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले सरकारको दाबी गर्दै आईरहेका छन् ।