१७ पौष २०७९ आईतबार
नेपालगंज । अज्ञात समुहको आक्रमणबाट नेपालगन्जमा तीन यूवा घाइते भएका छन् । घाईते हुनेमा नेपालगन्ज उपमहानगरपालिका १२ का उज्ज्वल शाह, वडा नं. ४ का सुगम शाह र सोही ठाउँका अनुराग शाह घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले बताए ।उक्त समुहले उनीहरु माथि धारिलो हतियार प्रहार गरी आक्रमण गरेको प्रहरीले बताएको छ ।
नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरस्थित आफन्तको घरमा गएका बेला अज्ञात समुहले दिउँसो सवा २ बजेतिर आक्रमण गरेको उनले बताए ।घाइते तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचारपछि भारतको लखनउ लगिएको छ ।के कति कारणले ती युवाहरुमाथि अज्ञात समुहले आक्रमण गरेको हो भन्ने विषयमा केही जानकारी प्राप्त नभएको प्रहरीले बतायो ।
आक्रमण गर्ने समुहको खोजी भइरहेको र आक्रमण गर्नुको कारण बारे अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।भारतीय नम्बर प्लेटको गाडीमा आएका ६ जनाको समुहले युवाहरु माथि आक्रमण गरेका थिए । आक्रमण गरे लगत्तै उक्त समुह गाडी छाडेर भागेको प्रहरीले जनाएको छ ।