कैलालीमा कपडा पसलमा आगलागी हुँदा करिब ६० लाख क्षति भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका(१९ )को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी अनुसार शनिबार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी भएको थियो ।आगलागीबाट दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडा सहितका सामान जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बहुलियाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए । आगलागीको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।