२३ पौष २०७९ शनिबार
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताएका छन्। उनले नागरिकमा एकअर्का राजनीतिक दलहरूप्रतिको विश्वास हराउँदै जानु दुःखद भएको स्वीकार गरे।
शनिवार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौती सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।
‘हाम्रो राजनीति‚ प्रशासनिक क्षेत्र र समाज चुनौती रहेका छन्। ती सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्छ। जनतामा राजनीतिप्रति कताकता नकारात्मक धार, वितृष्णाको अवस्था छ। एक अर्काप्रतिको विश्वास, कमजोर र हराएको पाइन्छ, यो दुःखको कुरा हो।’
नेपालले राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्ने अनुमान गर्न नसकिने बताए। उनले देशमा राजनीतिक स्थायित्व हुनुपर्ने बताए।
अध्यक्ष नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले पदमा को बस्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको भन्दै पदमा रहने व्यक्तिले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए।
उनले भने, ‘एउटा गठबन्धन अघि बढिरहेको थियो। त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्यो। यो गठबन्धन कति दरिलो र टिकाउ छ भन्न सकिने अवस्था छैन। सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गरोस्। को पदमा आसीन हुनेछ, त्यो महत्त्वपूर्ण होइन। उहाँले के गर्नुहुन्छ, त्यो महत्त्वपूर्ण छ।’