२४ पुस, काठमाडौं । फ्रान्सेली फुटबल फेडेरेसनले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक डिडिएर डेसच्याम्पसँगको सम्झौता चार वर्षका लागि विस्तार भएको घोषणा गरेसँगै जिनेदिन जिदानको भविष्य अनिश्चित बनेको छ ।
सन् २०२२ विश्वकप फाइनलमा फ्रान्सेली टिमको नेतृत्व गरेका यी प्रशिक्षक सन् २०२६ को विश्वकपसम्म पदमा रहने निश्चित भएको छ । हालै सम्पन्न विश्वकप फाइनलमा फ्रान्स टिम अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो ।
यसैबीच एल इक्युपले जिदानका लागि आवश्यक विकल्पहरु प्रस्तुत गरेको छ । विश्वकपअघि डेसच्याम्पले पद छाड्ने घोषणा गरेका थिए । रियल मड्रिडका पूर्व प्रशिक्षक जिदानलाई डेसच्याम्पको उपयुक्त उत्तराधिकारीका रुपमा हेरिएको थियो ।
गएको जुन महिनामा एक फ्रान्सेली अखबारसँगको अन्तर्वार्ताका क्रममा जिदानले राष्ट्रिय टिमको प्रशिक्षक बन्ने इच्छा ब्यक्त गरेका थिए ।‘म निश्चित रुपमा फ्रान्सको प्रशिक्षक बन्न चाहन्छु । म आशा गर्छु कि एकदिन अवश्य बन्नेछु,’ जिदान भन्छन्, ‘कहिले बन्छु ? यो मेरो हातको कुरा होइन । म फ्रान्ससँग पूर्ण चक्र पूरा गर्न चाहन्छु । फ्रान्सको राष्ट्रिय टिम सबैभन्दा सुन्दर छ ।’