२५ पुस, दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भोलि दावी पेश गरिने भएको छ। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अगाडि नै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको सत्ता साझेदार दलका नेताहरुले जानकारी दिए ।
सत्तासाझेदार दलहरुबीच देउखुरीको मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मंगलबार नै बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको नियुक्तिको लागि दावी पेश गर्ने निर्णय भएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता एंव लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले जानकारी दिए ।एमालेका संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख अमिक शेरचण समक्ष दावी पेश गर्नेछन् ।
प्रदेश प्रमुख शेरचणले भने पुस २७ गते बुधवार अपराह्न ४ बजेसम्मको समयमा दावी पेश गर्न समय दिएका थिए । लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ ।सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् ।
सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्। स्वतन्त्रबाट जितेका एक जना भने पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गिरी रूपन्देही क्षेत्र नं. २ (१) बाट प्रदेश सभाको सदस्य निर्वाचित भएका हुन्। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए।
पोखरेल प्रदेशका पहिलो मुख्यमन्त्री हुन् भने तत्कालीन नेकपा विभाजन भएपछि माओवादी केन्द्रका कुलप्रसाद केसी दोस्रो मुख्यमन्त्री भएका थिए।