“यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,” निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्।
युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्।
“निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो,” उनी भन्छन्।
पचास वर्षको अध्ययन एवम् अनुसन्धानपछि अबको विषय ‘निद्राले हामीलाई के गर्छ’ भन्ने होइन कि ‘निद्राले फाइदा नगर्ने केही छ कि’ भन्नेमा केन्द्रित हुन थालेको छ।
निद्रा नपुगेमा हाम्रो शरीर र मस्तिष्कले राम्रो काम गर्दैन
अहिलेसम्म अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन्।
विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निद्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो।
विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।
निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ।
तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।