जनवरी ११,२०२३
संयुक्त राज्य अमेरिकामा प्राविधिक समस्याका कारण देशभरिका सबै आन्तरिक उडानहरू कैयौँ घण्टाका लागि प्रभावित भएको बताइएको छ।
त्यहाँको नोटिस टु एअर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बताइएको छ।
समस्याहरू समाधान हुन थाले तापनि कम्तीमा इस्टर्न टाइम अनुसार विहानको ९ बजेसम्म कुनै उडान नहुने जनाइएको छ।
देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएएले ‘देशभरी नै प्रणालीमा देखिएको समस्यापछि विमान चालकहरूलाई विमानको हवाई मार्गमा हुनसक्ने सम्भावित खतराकाबारे सावधान गराउने उक्त प्रणालीलाई सुचारु ढङ्गले सञ्चालनमा ल्याउने प्रयास भइरहेको’ जनाएको छ।
एक वक्तव्य जारी गर्दै एफएएले भनेको छ, “प्रणालीका केही सुविधाहरू अनलाइन हुन थालिसकेका छन्।
तर “न्याशनल एअरस्पेस सिस्टमको सञ्चालन अझै पनि सीमित नै भएको” उक्त निकायले जनाएको छ।
यस विषयमा नियमित जानकारीहरू उपलब्ध गराउने पनि एफएएले बताएको छ।
अमेरिकन एअरलाइन्सले आफ्ना सबै उडानहरूमा असर परेको जनाएको छ।
यूनाइटेड एअरलाइन्सले एफएएबाट थप जानकारी नआउँदासम्म आफ्ना सबै आन्तरिक उडान ढिलो हुने जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनलाई यस अवरोधका बारेमा जानकारी गराइएको र “यतिखेर” साइबर हमलाको कुनै प्रमाणहरू नरहेको ह्वाइटहाउसले जनाएको छ।
आफ्नो एक ट्विटमा ह्वाइटहाउसका प्रेस सेक्रेटरीले राष्ट्रपतिले “यसका कारणबारे पूर्ण अनुसन्धान” गर्न भनेको जनाइएका छन्।