अरुण कुमार नेपाली
२८ पौष २०७९ बिहिबार
दाङ—जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ तुही रनियापुरको झाक्रीढुङ्गा सामुदायिक वनमा रहेको जन्ती ढुङ्गा आन्तरीक पर्यटकको रोजाईमा पर्न थालेको छ ।पछिल्लो समय जन्ती ढुङ्गा हेर्न तथा अवलोकन गर्न जिल्लाका विभिन्न ठाउँबाट मानिसहरु आउन थालेका छन् ।
अहिले दिनहुँ मानिसहरु ढुङ्गाको अवलोकन गर्न आउने गरेका झाक्रीढुङ्गा सामुदायिक वनका अध्यक्ष कमारा खत्रीले वताए । खास गरी घोराही,तुलसीपुर,नारायणपुर लगायतका स्थानबाट मानिसहरु अवलोकनका लागी आउने गरेको उनले वताए ।
तुही उपत्यकाको उत्तर तर्फ झाक्री ढुङ्गा सामुदायिक वनको शिरमा सयौको संख्यामा जन्ती ढुङ्गा रहेका छन् । जसलाई जन्ती ओलाप्पिएको ठाउँ भन्ने गरिन्छ । ती ढुङ्गाहरु मानवीय आकृतिमा वनेका छन् । हेर्दा जो कोहीलाई पनि ढुङ्गाहरु अनौठो लाग्ने गर्छ ।
विभिन्न आकृतिमा वनेका ढुङ्गाहरुको उत्पति कसरी भयो भन्ने विषयमा वैज्ञानिक तथ्य फेला नपरे पनि साच्चिकै जन्ती नै ओलाप्पिएर ढुङ्गामा परिणत भएको जानकारहरु बताउछन् ।ढुङ्गाहरु अवस्थित रहेको ठाउँदेखि पूर्व दिशाबाट पश्चिम दिशा तर्फ दुलही लिएर गईरहेका जन्तीहरु राती त्यस ठाउँमा विश्रामको लागी बसेका बखत एकाएक ओलाप्पिएको र पछि ढुङ्गाको रुप धारण गर्दै प्रकट भएको किवंदन्तीमा उल्लेख छ ।
जन्ती ओलाप्पिएको किवंदन्तीका आधारमा अहिले पनि त्यस क्षेत्रको बाटो विहेका लागी प्रयोग गर्न निशेध गरिएको छ ।विहेका लागी त्यस क्षेत्रको बाटो प्रयोग गरिएमा दुलाह दुलही र जन्ती ओलापिन्छन् भन्ने डरले निशेषध गरिएको अध्यक्ष खत्रीले वताए ।
करिब २ सय वर्ष अघि ढुङ्गाहरुको उत्पति भएको तुलसीपुर १३ रनियापुरका ७८ वर्षिय लिलाधर भट्टराईले वताए । उनका पूर्खाहरुले वताए अनुसार जन्ती नै ओलाप्पिएर ढुङ्गामा परिणत भएको उनी बताउछन् ।हेर्दा जन्ती जस्तै लाग्ने ढुङ्गाहरु कुनै विहेमा वसेका जन्तीका लक्सर जस्तै लाग्छन् । जसले पर्यटकको मनै लोभ्याउने गरेका छन् ।विशेष गरी ढुङ्गाका दुलाह दुलहीले पर्यटकलाई आकर्षित बनाउने गरेका छन् ।
त्यहाँ ढुङ्गाको मण्डपमा ढुङ्गाकै दुलाह दुलही देख्न सकिन्छ भने दुलहीको छेउमै वसेकी लोकन्ती पनि देख्न सकिन्छ,जुन पर्यटकको आकर्षणका रुपमा रहेका छन् ।त्यति मात्र होइन ढुङ्गाकै दुलही बोक्ने डोली,खाना बनाउने भाँडाकुँडा र चुल्हो पनि देख्न सकिन्छ । जुन दुलही पक्षले दाइजो स्वरुप दुलाह पक्षलाई दिएको किवंदन्ती छ ।
दशक अघिसम्म उक्त जन्ती ढुङ्गा ओझेलमा थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ र १४ का स्थानीय बाहेक अन्य ठाउँका मान्छे त्यहाँ पुग्न सकेका थिएनन् ।खास गरी यो ठाउँलाई घाँस दाउरा र गोठालो गर्ने मानिसले विश्राम थलोको रुपमा प्रयोग गर्दै आईरहेका थिए ।
प्रचार—प्रसार हुन नसक्दा ओझेलमा परेको जन्ती ढुङ्गाले पछिल्लो समयमा भने चर्चा कमाउदै गइरहेको छ ।केही समय अघि प्रचार—प्रसारको काम थालिएपछि जन्ती ढुङ्गा चर्चामा आएको हो ।जन्ती ढुङ्गाको समयमै संरक्षण गर्न नसक्दा धेरै जसो ढुङ्गाहरु फुटाइएको छ । त्यस ठाउँमा तुलसीपुर १३ को रनियापुरबाट दामोदर सडक हुँदै आधा घण्टाको पैदल हिडेर पुग्न सकिन्छ ।अहिले जन्ती ढुङ्गा पुग्नको लागी बाटो र खानेपानी प्रमुख समस्याको रुपमा रहेको छ ।
हालै पर्यटकलाई सवारी साधनबाट पुग्नको लागी सडक बनाइएकोे छ । तर वर्षायाममा भने उक्त सडक बन्द हुने गर्छ । जसका कारण पर्यटकलाई गनतव्यसम्म पुग्न कठिनाई भईरहेको छ ।
जन्तीढुङ्गालाई नमुना पर्यटक स्थल बनाउनको लागी अभियान चलाईने

यसैबीच जन्ती ढुङ्गालाई जिल्लाकै नमुना पर्यटक स्थलको रुपमा विकास गर्न अभियान सञ्चालन गरिने भएको छ । पछिल्लो समय पर्यटकको बाक्लो उपस्थिति हुन थाले पछि झाक्रीढुङ्गा सामुदायिक वन उपभोक्ता समिति र जन्तीढुङ्गा संरक्षण समितिले जन्ती ढुङ्गाको संरक्षण र सम्वद्र्धन गर्न अभियान सञ्चालन गर्ने भएका हुन् ।
अभियान अन्तर्गत जन्ती ढुङ्गाको प्रचार—प्रसाच,पर्यटकलाई गनतव्यसम्म पुग्न बाटो निर्माण, खानेपानी व्यवस्थापन भौतिक संरचना निर्माण लगायतका कार्यहरु अघि बढाईने छ । त्यसका लागी तीनै तहका सरकारसंग बजेट माग गर्न पहल गरिने छ ।
सोही अनुरुप झाक्रीढुङ्गा सामुदायिक वन उपभोक्ताले बिहिबार विभिन्न सरोकारवालाहरुसंग छलफल गरेको छ ।
कार्यक्रममा वोल्दै संरक्षण समितिका अध्यक्ष हुम बहादुर नेपालीले जन्ती ढुङ्गालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूहरु गुरु योजना सहित अघि बढ्ने वताए । जन्तीढुङ्गा तुही उपत्यकाको मात्र नभई जिल्लाकै पहिचानसंग जोडिएकाले यसलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न आवश्यक भौतिक संरचनाका निर्माणको कार्यलाई तत्काल अघि बढाउने गरी आफूहरु लागी परेको बताए।
जनज्योति मा.वि.का प्रधानाध्यापक हेमन्त बहादुर बुढाथोकीले ऐतिहासिक सम्पति देश र मानिसको पहिचानसंग जोडिएकाले जन्ती ढुङ्गाको संरक्षण गर्नु सबैको दायित्व भएको वताए । उनले जन्ती ढुङ्गलाई अध्ययन केन्द्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
समाजसेवी जागेश्वर वलीले ऐतिहासिक महत्व बोकेको जन्ती ढुङ्गाको विकासमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने वताए । उनले खास गरी स्थानीय सरकारले पर्यटन क्षेत्रको पहिचान गरी लगानी गर्नु पर्ने वताए । छलफल कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोहनलाल पौडेलले जन्ती ढुङ्गालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकारले सहयोग गर्ने वताए ।
उनले जन्ती ढुङ्गालाई पर्यटन क्षेत्र बनाउनको लागी के कस्ता भौतिक संरचना निमार्ण गर्नु पर्ने हो त्यसको स्टिमेट तयार पारी वडामा पेश गर्न आग्रह गरे । उक्त सामुदायिक वनका अध्यक्ष कमारा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षण समितिका उपाध्यक्ष लालबहादुर नेपालीले स्वागत मनतव्य राखेका भने कार्यक्रमको सञ्चालन मधु नेपालीले गरेका थिए ।