काठमाडौँ — पोखरा विमानस्थल नजिकै आइतबार बिहान दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको र मौसम पनि ठीक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा स्थापना गरिएको रेस्क्यु कोअर्डिनेसन सेन्टरमा पुगेर अवस्थाको जानकारी लिएपछि महानिर्देशक ठाकुरले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।
उनले भने, ‘मौसम खराब थियो भन्न सकिँदैन । पोखरा टावरको भनाइ अनुसार बिहानैदेखि मौसम राम्रो छ । त्यसैले मौसमलाई दोष दिन मिल्दैन । हाम्रो हरेक एयरपोर्टको मापदण्ड हुन्छ । यति भिजिबिलिटी भयो भने आईएफआर खोल्ने र यति भिजिबिलिटी भयो भने भीएफआर फ्लाइट खोल्ने भन्ने मापदण्ड हुन्छ । त्यो मापदण्ढ पूरा नगरी एयरपोर्ट खुल्दैन । पोखरा एयरपोर्ट मापदण्ड पूरा गरेर बिहानदेखि खुला छ । फ्लाइट भइरहेको छ । त्यो भन्दा पहिला पनि फ्लाइट भएका थिए ।’
एयरलाइन्स र एयरपोर्टले सम्पूर्ण मापदण्ड पूरा गरेर नै उडान भरेको ठाकुरले बताए । एयरपोर्टबाट नजिकैको दूरीमा दुर्घटना भएको पनि उनले जानकारी दिए ।
दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक थिए । त्यसमा ५३ नेपाली यात्रु रहेको पनि ठाकुरले बताए । विमानमा चार चालक दलका सदस्य थिए । सबै गरेर विमानमा ७२ यात्रु थिए ।
दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो ।