काठमाडौं : बागमती प्रदेशमा एक लाख २८ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्।
गत साउनदेखि पुस मसान्तसम्ममा नियमविपरीत सञ्चालन गर्ने सवारी चालक कारबाहीमा परेका हुन्।
बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार यो अवधिमा एक लाख २८ हजार ७५४ चालकलाई कारबाही गर्दा ११ करोड ३२ लाख ६५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमविपरीत चलेका सवारी साधनका चालकलाई ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
सवारी साधनको यान्त्रिक कारणले हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी साधनको यान्त्रिक परीक्षण अभियान सञ्चालन गरी ५ हजार ५९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गर्दा १ हजार ५४४ जनालाई कारबाही गरिएको छ।
सवारी साधनको तीव्र गति नियन्त्रणका लागि २२० स्थानमा राडर गनसहित चेकजाँच गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
साथै सिन्धुली, काभ्रे, चितवन, मकवानपुर र धादिङ जिल्लाका राजमार्गमा चल्ने सार्वजनिक सवारी साधनमा टायम कार्डको व्यवस्था गरिएको छ ।