५ माघ २०७९ बिहिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव पहिचान छिटो परिवारलाई बुझाउन निर्देशन दिएका छन् ।
बिहिबार शव पहिचानको स्थितिबारे जानकारी लिन महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेका प्रधानमन्त्री दाहालले शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका हुन्।
साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे।
त्यस क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट पनि गरी परिवारप्रति समवेदना प्रकट गरेका थिए ।