६ माघ २०७९, शुक्रबार
काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन् ।
शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताउए ।
उनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनैपनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताए।
उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उनले भने, ‘नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरु यो एक्स्पोले अझै सहयोग गर्नेछ । कुनैपनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन । संक्षिप्त समय निकालेर म आएको छु । यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनैपनि कामहरु, प्रक्रियाहरु लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ । देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्छु, नेपालमा लगानी गरौँ भन्ने विदेशी उद्योगीहरुलाई यहाँ आउनुहोस् नेपालमा लगानीमैत्री वातावरण छ, सरकारले सबै प्रकारको सुरक्षा गर्छ । सरकारले सबै जिम्मा लिन्छ, लगानी खेर जाँदैन, लगानीको पूर्ण ग्यारेन्टी हामी लिन्छौँ ।’
मन्त्री लिङदेनले नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिए । उनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत खपत बढाउनुपर्ने बताए । उनले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताए । उनले देशभित्रै उद्योगधन्दा बढी भन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताए । उनले आगामी दिनमा देशमा उद्योगधन्दाको व्यापक बिस्तार हुनुपर्ने बताए ।