७ माघ २०७९ शनिबार
दाङ । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको माघ २५ गते हुने भएको छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचनका लागी शुक्रबार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका कार्यालयको स्थापना गरेको हो ।
नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।भट्टराई २०७४ सालमा राष्ट्रियसभा सदस्यमा चुनिएका थिए भने उनको कार्यकाल ६ वर्षको थियो।

माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा उपनिर्वाचनको मतदान हुने छ ।जसका लागी निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।उपनिर्वाचनको कार्यतालिका अनुसार माघको ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालीका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेश भर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।