नयाँसरोकार—२०७९ माघ १६ गते
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल सामग्रीको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले साेमबार विज्ञप्ति जारी गरी ‘मन्त्रालयको वेबसाइटमा गई डिजिटल सिकाइ सामग्री खाेजेर पढाउनू’ भनेको हो।
‘देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि पाठ्यपुस्तकलगायत गुणस्तरीय सिकाइ सामग्रीमा सहज पहुँच पुर्याउने उद्देश्यले शिक्षा मन्त्रालय मातहतका निकायबाट डिजिटल सामग्रीहरूको उत्पादन, प्रशारण र वितरण भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
अझै पनि कतिपय स्थानहरूमा पर्याप्त जानकारी नभएको भन्ने बुझिन आएकाे भन्दै मन्त्रालयले यी सामग्रीको उच्चतम प्रयोग गर्न आग्रह गरेको हाे।
यी सबै सामग्रीहरू विज्ञबाट तयार पारिएकाले उपयोगी हुने मन्त्रालयको भनाई छ। अझै पनि सम्बन्धित ठाउँमा नयाँ पाठ्यपुस्तक नपुगेको गुनासोहरू पनि आइरहेको छ।
यस्तै, शिक्षा मन्त्रालयले पहिलादेखि अनुदान वा सहायता प्राप्त गरी आइसिटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८६९ विद्यालयहरूले डिजिटल सामग्रीहरू विद्यालयको ई-लाइब्रेरी व्यवस्था गर्नुपर्ने प्रावधान रहेकाले सोबमोजिम नभए तत्काल प्रबन्ध गर्न निर्देशन दिएको छ।
यसका लागि स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयको अनुगमन तथा यसको पृष्ठपोषण सम्बन्धित निकायमा उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ।