२०७९ माघ २६ गते
बझाङ । सामाजिक सुरक्षा भत्ता बुझ्न हिडेकी बझाङको छविसपाथिभेरा गाउँपालिका–१ कि ७२ वर्षीया सिता गिरी बाटैमा मृत्यु भएको छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्न छविसपाथिभेरा गाउँपालिकामा अवस्थित कुमारी बैंकमा पुगेकी गिरीको भत्ता बुझेर घर फर्किने समयमा बीच बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।
श्रीमानको निधन भएको लामो समय भएको थियो । उनका आफन्त पनि घर नभएको र गिरी केही समयदेखि बिरामी रहेको सेती क्याम्पस बगडगाउँका प्राध्यापक लक्ष्मण गिरीले बताए । उनले भने, ‘गिरी दमको बिरामी हुनुहुन्थ्यो ।
नजिकका आफन्तहरुले सामाजिक सुरक्षा भत्ता बुझ्ने ब्यवस्था भएको भए सायद उनको मृत्यु हुँदैन थियो । उनको बुहारी सन्तोला गिरी पनि उनको उपचार गर्ने भनेर केही दिन अघि मात्रै घरमा पुग्नु भएको थियो । तर, सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि भनेर झण्डै ५ किलोमिटरको दुरीमा रहेको कुमारी बैंक जानु भएको रहेछ । सामाजिक सुरक्षा भत्ता बुझेर फर्किने क्रममा उनको मृत्यु भएको हो ।’