माघ २८,२०७९ शनिबार
काठमाण्डौ – नेकपा एकीकृत (समाजवादीका) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन् ।
शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे ।
उनले नेकपा एमालेले अन्तिममा आश्वासन दिएका व्यक्तिलाई पराजित गर्ने बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताए।
उनले भने, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् ।
किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अघि बढिरहेको छ । मैले संकेत मात्रै गरेको हो । हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ । के मूल्य छ, यिनीहरुको भन्नेहरु भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।’