अरुण कुमार नेपाली
माघ २८,२०७९ शनिबार
दाङ – लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ ।शनिबार सत्ता साझेदार दलहरु बिच मन्त्रालय बाँफाँडमा सहमति जुटेसंगै सरकारले पूर्णता पाएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना पछि मुख्य मन्त्री लिला गिरीले सरकारलाई पूर्णता दिएका हुन् ।सत्तारुढ दलहरु बिच नै मन्त्रालय भागवण्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाई भएको थियो ।
मुख्यमन्त्री गिरीले सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गरेका छन्। साथै उनले मन्त्रीहरुको कार्य विभाजन पनि गरेका छन् ।पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको हो ।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेका हुन।दलिय सहमति अनुसार नेकपा(एमाले) ले मुख्य मन्त्री सहित ५ मन्त्री पाएको छ भने माओवादी केन्द्रले ३ तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना मन्त्री पाएका छन्।
मन्त्री भएसंगै उनिहरुलाई मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ । जस अनुसार एमालेको तर्फबाट यस अघि विनाविभागीय मन्त्री बनेका चेतनाराण आचार्य खानेपानी,ग्रामीण तथा शहरी विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्य,दुर्गाप्रसाद चौधरी वन तथा वातावरण र तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
नेकपा (माओवादी)केन्द्रबाट माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिला, इन्द्रजित थारु भैतिक पुर्वाधार विकास र कृष्णा केसी आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्री भएकी छिन् ।
यस अघि मन्त्रालय भागवण्डामा कुरा नमिल्दा विना विभागीय मन्त्री भएकी केसीले राजिनामा गरेकी थिइन। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवलाई उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सरकारलाई समर्थन गरेको जसपा भने सरकारमा सहभागि भएको छैन ।उसले मन्त्रालय बाँडफाडमा असहमति जनाउदै सरकारमा सहभागि नभएको सम्बन्धित स्रोतले बताएको छ ।
तर अन्य सत्तारुढ दलले केही दिन भित्रै जसपा पनि सरकारमा सहभागि हुने दाबी गरेका छन् ।पछि जसपा पनि सरकारमा आउन सक्ने भन्दै उसलाई एउटा मन्त्रालय दिने गरी हाल उक्त मन्त्रालय एमालेले राखेको छ ।नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । यसअघि माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री हुंदा १३ मन्त्रालय रहकोमा उक्त मन्त्रालयको संख्या घटाएर १० पुर्याइएको छ । यसै बिच नवनियुक्त मन्त्रीहरुको सपथ आइतबार हुने भएको छ । मन्त्रीहरुको सपथ दिउँसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
