२ फाल्गुन २०७९, मंगलवार
काठमाडौं : कुशल भुर्तेलको शतकीय विस्फोटक ब्याटिङसँगै नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले जितका लागि दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ दशमलव ४ ओभरमा ८ विकेट गुमाएर भेट्टायो।
नेपालको जितमा कुशल भुर्तेलले शतकीय पाली खेल्दै सर्वाधिक ११५ रनको योगदान गरे। ११३ बलको सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरे।
कप्तान रोहित पौड्यालले ७२ रनको योगदान गरे। सन्दीप जोराले २८ तथा ज्ञानेन्द्र मल्ले २५ रन जोडे।
नामिबियाविरुद्धको खेलमा आज नेपालका ३ खेलाडीले कीर्तिमान बनाएका छन्।
नेपालका करण केसी एकदिवसीय क्रिकेटमा ५ विकेट ३ पटक लिने पहिलो नेपाली खेलाडी भएका छन्।
कप्तान रोहित पौडेल अर्धशतकीय पाली खेल्दै एकदिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।
कुशल भुर्तेलले पनि आइसिसी क्रिकेट विश्वकप लिग-२ मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडीको रुपमा आफूलाई स्थापित गरेका छन्।
यसअघि क्रिकेट मैदानमा टस हारेर शुरुवाती ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो।
नामिबियाका माइकल भ्यान लिङ्गेनले शतकीय पाली खेल्दै सर्वाधिक १३३ रनको योगदान गरे। कप्तान गेरहार्ड इरास्मसले ५६ तथा जेन हरियोले ३४ रन जोडे।
बलिङतर्फ नेपालका करण केसीले कीर्तिमानी सर्वाधिक ५ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट हात पार्दा सोमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए।
जितसंगै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलमा सफलता हात पारेका छन्।