२०७९ फागुन २ गते
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किने आशंका व्यक्त गरेका छन्। उनले गठबन्धन भत्काउन अनेकौं आन्तरिक र वाह्य शक्ति जुर्मुराएको आरोप पनि लगाएका छन्।
अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन्। उनले संसदको बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किने शंका व्यक्त गरे।
उनले भने‚ ‘अहिले साथीहरू काफी प्रशन्न भएको देख्छु म। हामीले पाँचदलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो तर हाम्रा पार्टीका साथीहरू प्रशन्न भएको देखिन्छ। तर कथम् कदाचित यो स्थिति फेरियो भने? संसदको बनावट नै अस्थिरताको कारक हुने खालको छ। बहुमत कसैको छैन‚ हाम्रो पार्टीसँग बहुमत छैन।’
उनले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बर्बाद पार्न लागि परेका आरोप लगाए। एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको दावी गर्दै उनले सबैभन्दा पहिले एमालेमाथि नै प्रहार हुनसक्ने आशंका व्यक्त गरे। उनले देशमा स्थिरता र स्थायित्व हुन नदिन अनेकौं प्रकारका षड्यन्त्रहरू भइरहेको बताए।
अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए। कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताए।
उनले अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू राम्रोसँग पढेर राम्रो नतिजा ल्याउने खालको हुनुपर्ने बताए। कुनै पनि बहानामा पढाई नछोड्न उनले विद्यार्थीहरूलाई आग्रह गरे।अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गरे। उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठन भर्खरै सिक्दै गरेका भनि टिप्पणी गरे। उनले नेविसंघलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको बताए।