अरुणकुमार नेपाली
फागुन २,२०७९ मंगलबार
दाङ—तुलसीपुर १३ का गरिब तथा अतिविपन्न परिवारलाई खानेपानीको मिटर वितरण गरिएको छ । मंगलबार तुलसीपुर उपमहानगपालिका वडा नं.१३ ले २० घरपरिवारलाई मिटर वितरण गरेको हो ।
आर्थिक अभावका कारण मिटर जोड्न नसक्दा ति घरपरिवारले खानेपानीको धारा जडान गर्न सकिरहेका थिएनन् । मिटर पाएसंगै उनिहरुले अब आफ्नो घरमा धारा जडान गर्न सक्नेछन् ।ढकना खानेपानी तथा सरसफाई संस्थाबाट उनिहरुको घरमा अब पानी पुग्नेछ ।
वडाले मिटर उपलब्ध गराए पछि ती घपरिवार खुशी भएका छन् । ‘मिटर नहुँदा खानेपानीको धारा जोड्न सकिरहेका थिएनौ,तुलसीपुर १३ ढकना निवासी आनन्द नेपालीले खुशी हुँदै भने,वडाले मिटर दियो अब घरमा धारा जोड्छौ।’‘गाउँमा खानेपानी सुबिधा विस्तार भईसक्दा पनि मिटर किन्न नसक्दा समस्या भइरहेको थियो नेपालीले भने तत्काल हामी सबैले घरमा धारा जोड्छौ ।’
वडाध्यक्ष मोहनलाल पौडेलले वडाका सबै नागरिकलाई खानेपानीको पहँच पुर्याउन मिटर वितरण गरिएको बताए । उनले गरिबी र विपन्नताको कारणले वडाका कोही पनि मानिस खानेपानीबाट बञ्चित नहोस भन्ने उद्धेश्यले यस्तो अभियान सञ्चालन गरिएको बताए ।
आगामी दिनमा पनि यस कार्यलाई वडाले निरन्तरता दिने उनले बताए । गरिबी तथा विपन्न घरपरिवार छनौटमा परेका समुदायका लागी वडाले मिटर वितरणको कार्यलाई अघि बढाउदै लैजाने उनले जानकारी दिए ।