फागुन ४,२०७९ बिहीबार
काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ।
खाना पकाउने ग्यास जलन भई घाइते भएका उनलाई बिहीबार दिउँसो कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्शअनुसार थप उपचारका लागि श्रीएयर लाइन्सको विमानबाट भारत पठाइएको हो।
सुविधासम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको कांग्रेस सांसद दीपक खड्काले जानकारी दिए।
सोही घटनामा परी गम्भीर घाइते सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित नेपाल वर्न सेन्टरमा निधन भएको थियो। यसअघि सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री डा. शशांक कोइरालासहित विभिन्न राजनीतिक दलहरु नेताहरु, पूर्वमन्त्रीहरु, सांसदहरु सोही अस्पताल पुगेका थिए।
सांसद भण्डारीको शरीरको करिब ३० प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन्।