फागुन ११,२०७९ बिहीबार
एजेन्सी—सिरियामा भूकम्पले भत्किएको एउटा घरको भग्नावशेषमा आमा र अन्य आफन्तको शवसँगै सालनाल सहित फेला परेकी एक बालिकालाई उनका आफन्तले धर्मपुत्री बनाएका छन्।
ती बालिकालाई जीवितै उद्धार गरिएको दृश्य र समाचारले विश्वभरि ठूलो चर्चा पाएको थियो। त्यसपछि उनलाई पाल्ने इच्छा विश्वभरिका हजारौँ मानिसले व्यक्त गरेका थिए।
परिवारका सबै सदस्यको मृत्यु भएको तर उनी जीवित फेला परेको हुनाले अधिकारीहरूले उनको नाम सुरुमा अया राखिदिएका थिए। अरबी भाषामा त्यसको अर्थ चमत्कार भन्ने हुन्छ।
उनका नयाँ अभिभावकले ती बालिकीकी आमाको सम्झनामा उनको नाम अफ्रा राखेका राखिदिएको बिबिसीले जनाएको छ ।
अफ्राकी दिवङ्गत आमा र धर्मआमा हलाबीच रगतको साइनो थियो। डीएनए परीक्षण गर्दा त्यो पुष्टि भएपछि हला र उनका पति खलिलले उनलाई लालनपालन गर्ने अनुमति पाएका हुन्।
विनाशकारी भूकम्प जाँदा हला पनि गर्भवती थिइन्। उनले तीन दिनपछि छोरी पाइन्। उनका अरू छोराछोरी पनि छन्।
खलिल र हलाको घर पनि भूकम्पमा भत्किएको थियो। अहिले उनीहरू आफन्तको घरमा शरण लिइरहेका छन्।