अरुण कुमार नेपाली
फागुन ११,२०७९ बिहीबार
काठमाडौँ—नेपाल विद्यालय कर्मचारी परिषद्ले विगतको सहमति अनुसार सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै पुनः चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।
फागुन ८ र ९ गते काठमाण्डौमा भएको तेस्रो राष्ट्रिय सम्मेलन पश्चात आफ्नो घोषणा पत्र जारी गर्दै परिषदले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
फागुन १५ गतेदेखि फागुन मसान्तसम्म ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने र चैत्र १ गतेदेखि ७ गतेसम्म जिल्लाका सबै शिक्षा विकास तथा समन्वय इकाइहरूमा ध्यानाकर्षण पत्र बुझाउने घोषणा पत्रमा उल्लेख छ।
यसैगरी चैत २१ गते संघीय सरकारका सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ।यद्यपीःसरकारसंग वार्ता र सम्वाद पनि निरन्तर जारी राख्ने परिषदका अध्यक्ष गंगाराम तिवारीले बताए ।
यति गर्दासम्म पनि सरकार सकारात्मक नबने देशभरका सामुदायिक विद्यालय अनिश्चितकालसम्म बन्द गरीआन्दोलनमा जाने परिषदले जनाएको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले माग पूरा गर्ने आश्वासन पटक पटक दिए पनि हालसम्म यसको कुनै संकेत नदेखिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको बताए।
उनले सामुदायिक विद्यालयमा कार्यरत करिब ३४ हजार विद्यालय कर्मचारीहरुलाई आन्दोलनका लागी तयार हुन समेत आग्रह गरे ।आफ्ना माग सम्बोधन नभएको भन्दै परिषद गत भदौदेखि नै निरन्तर आन्दोलनमा छ ।
उसले सरकारलाई माग सम्बोधन गर्न पटक पटक दबाब दिदै आएको छ तर सरकार भने यस विषयमा अझै गम्भिर नभएको परिषदको भनाई छ।
परिषद्ले विद्यालय कर्मचारी सहायक ९लेखापाल०हरूको तलब ३४ हजार ७३० र सहयोगीको २४ हजार २१० रुपैयाँ हुनुपर्ने, कर्मचारीलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने लगायत माग राख्दै आएको छ ।

