२०७९ फागुन १२ गते
पोखरा – कास्कीमा वडा अध्यक्षको कुटपिटबाट अस्सिटेन्ट सव—इन्जिनियर घाइते भएका छन् ।माछापुच्छ्रे गाउँपालिका वडा नं.८ का वडाध्यक्ष राम गुरुङको कुटपिटबाट सोही गाउँपालिकामा कार्यरत अस्सिटेन्ट सव—इन्जिनियर लक्ष्मण जिसी घाइते भएका हुन् ।
जिसीको नाक, कान, घाँटी र शरिको विभिन्न भागमा चोट लागेको छ । वडाध्यक्षले स्टिमेटको काम समयमै सम्पन्न किन नगरेको भन्दै आफू माथि मुक्का प्रहार गरी कुटपिट गरेको जिसीले बताए ।
सवइन्जिनियर जिसीले शुक्रबार जीउँ ज्यानको सुरक्षा तथा कारबाहीको माग गर्दै वडाध्यक्ष गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।
वडाध्यक्ष गुरुङले भने जिसीले आफू माथि हेल्मेट प्रहार गर्न लागेपछि धकेल्दा ठोक्किएर चोट लागेको दाबी गरे । उनी भन्छन्, ‘उहाँ १० बजेर ४६ मिनेटमा भित्र छिर्नुभो । किन ढिला भनेर भने। उहाँले प्राविधिक यस्तै हो भन्नुभो । हेल्मेट ताक्नुभो । जुरुक्क उठेर धकेल्दा ठोक्कियो।’
ल्वाङ सामुदायीक होमस्टेले प्रदेशबाट अनुदान लिनलाई स्टेमट गर्न नमानेपछि विवाद सुरु भएको वडाध्यक्ष गुरुङले बताए। अस्सिटेन्ट सवइन्जिनियर जिसीले पनि वडाध्यक्षले स्टेमेट गर्न लगाएको काम व्यस्त भएर नसक्दा कुटपिट भएको बताउँछन् ।