फागुन २१,२०७९ आइतबार
दाङ — भोलीदेखि रङहरुको पर्व होली सुरु हुदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । भोली हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ ।
होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा भोली फागुन २२ गते होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने पर्सि मंगलबार २३ गते भव्यताका साथ मनाइन्छ ।
मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । एक साता अघि अर्थात फागुन १५ गते वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो । बसन्तपुरमा चीर ठड्याएको थियो ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।होली पर्वका दिन सरकारले सार्वजनिक विदा समेत दिने गर्छ ।