फागुन २१,२०७९ आइतबार
काठमाडौं । आइतबार बसेको ९ दलीय गठबन्धनको बैठकले २ बुँदे निर्णय गर्दै एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ । बैठकपछि विज्ञप्ति नै जारी गरेर उक्त निर्णय सार्वजनिक गरिएको छ ।
पहिलो निर्णय पछिल्लो समय संविधान र लोकतान्त्रिक गणतन्त्र एवं भावनाविपरीत गतिविधिहरु भएको भन्दै त्यस विषयमा गठबन्धन एक रहेको भनिएको छ । भने दोस्रो बुँदाको निर्णयमा संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेका कानुनहरु परिमार्जन गर्ने तयारी पनि गरेको छ ।
जारी विज्ञप्तिको २ नम्बरको बुँदामा भनिएको छ, ‘केही समययता सङ्क्रमणकालीन न्याय बारेमा उठेका विषयमा हाम्रो ध्यान गम्भीर रूपले आकृष्ट भएको छ । शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरूप तार्किक निष्कर्षमा पुऱ्याउन हामी प्रतिबद्ध छौँ ।
विगतमा सम्बन्धित विषयमा कानुन निर्माण र आयोग गठन गरी केही काम सम्पन्न भएको सर्वविदितै छ । यस बारे बाँकी कामहरू अविलम्ब पूरा गरिनेछन् । द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानुन बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गरिने छ । कानुन निर्माणका साथै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने छन् । मुलुककै महत्त्वपूर्ण एजेन्डाका रूपमा रहेको हामी सबैको साझा विषयलाई उचित निष्कर्षमा पुऱ्याउन सबैको सकारात्मक भूमिका र सहयोगको अपेक्षा गर्दछौँ ।’