२२ फागुन २०७९ सोमबार
काठमाण्डौ – नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् ।
सोमवार राप्रपा पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गरेका हुन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए । पौडेललाई राष्ट्रपतिको निर्वाचनमा सघाँउने विषयमा राप्रपा सकारात्मक रहेको पनि खड्काले बताए ।
एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ । चुनाव नजिकिएसँगै उम्मेदवारहरू आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरूसँगको भेटलाई तीव्र बनाइरहेका छन् ।