अरुण कुमार नेपाली
२६ फागुन २०७९ शुक्रबार
दाङ—आफ्नो पूर्व घोषित कार्यक्रम अन्तर्गत नेपाल विद्यालय कर्मचारी परिषदले देशैभरका पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ।
सरकार र आफूहरु बिच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले देशभरका ७५३ वटै पालिकाहरुमा एकै साथ ध्यानाकर्षण पत्र बुझाईएको नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गंगराम तिवारीले जानकारी दिए ।परिषद अन्तर्गतका नगर र जिल्ला कमिटी मार्फत परिषदले एकै साथ ध्यानाकर्षण पत्र बुझाईएको हो ।
राष्ट्रिय सम्मेलन २०७९ को घोषणा पत्र तथा आन्दोलनको कार्यक्रम अनुसार स्थानीय सरकारलाई आन्दोलनको स्वरुप जानकारी गराउन ध्यानाकर्ष पत्र बुझाईएको उनले बताए ।
सामुदायिक विद्यालयमा कार्यरत सहायक कर्मचारी(लेखापाल) र विद्यालय सहयोगी(पियन) ले विगत लामो समयदेखि न्युन वेतनमा काम गर्दै आइरहेका छन् ।
यस विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भिर नभएको भन्दै परिषदले पुनः ध्यानाकर्षण गराएको हो ।तर यो पटक सरकार माग प्रति गम्भिर नभए बैशाखको पहिलो हप्तादेखि नै परिषद विद्यालय बन्द गरी कडा आन्दोलनमा जाने तयारीमा छ ।
उसले यो अन्तिम ध्यानाकर्षण पत्र भएको समेत बताएको छ । ‘माग सम्बोधन गर्ने विषयमा सरकारसंग पटक पटक सम्झौताहरु भए,कैयौ पटक ध्यानाकर्षण पत्र समेत बुझायौ तर सरकार गम्भिर बनेन् अध्यक्ष तिवारीले भने,’अब यो अन्तिम ज्ञापन पत्र हो,सरकारलाई अन्तिम मौका पनि हो,हाम्रा माग पुरा गर्ने सवालमा सरकार उदासिन भयो भने,विद्यालय बन्द गरेर आन्दोलनमा जानुको अर्को विकल्प नै छैन।,’
यसपछि परिषदले चैत ४ गते एकै दिन देशैभरका शिक्षा विकास तथा समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष तिवारीले बताए ।प्रदेश र संघमा भने मिति तय गरेर बुझाइने उनले बताए । आश्वासन दिने तर सहमति कार्यान्वयन नगर्ने सरकारको नियत प्रति आफूहरु यस पटक निकै सजग रहेको बताउदै अध्यक्ष तिवारीले अब आन्दोलनको निरन्तरताबाट नै माग मुद्धा सम्बोधन गराएरै छाड्ने दाबी गरे ।