२६ फाल्गुन २०७९, शुक्रबार
हुम्ला । हुम्लामा उच्च उच्च रक्तस्रावभएकी एक महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ । दुई हप्ता अगाडि सुत्केरी हुने समय नपुगी गर्भ तुहिएर उच्च रक्तस्राव भएकी हुम्ला सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको उद्धार गरिएको हो ।उनको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्वार गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।।
दुई हप्तादेखि लगातार अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था गम्भीर भएको थियो । जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा छत्यालको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले बताए।राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरमा उद्धार गरी सुुर्खेत पुर्याए लगत्तै उनको प्रदेश अस्पतालमा उपचार सुरु भएको छ ।
उनलाई बिहीबार गोठीगाउँबाट उद्धार गरिएको हो । उनको उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेका थिए । सुत्केरी छत्यालसहित राष्ट्रपति महिला उत्थान कार्यक्रमले चालु आवको साउन महिनायता यो छैटौँ उद्धार गरेको छ । यसमा एक बेथा लागेकी गर्भवतीको खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा निधन भएको थियो । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताजाकोट गाउँपालिकाका बेथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ ।