२७ फाल्गुन २०७९, शनिबार
नेपालगञ्ज—आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो । दृश्य परिप्रेक्ष गर्ने आँखा नभएको अवस्थामा साँच्चै नै जिन्दगी अन्धकारमय बन्न पुग्छ । यो अन्य अंगहरुको तुलनामा निकै नै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नु पर्दछ ।
अन्यथा सानो लापरवाहीका कारण पनि आँखामा विभिन्न समस्याहरु देखा परी ज्योती नै गुम्न सक्ने डर पनि उत्तिकै रहन्छ । तसर्थ, हामीले आँखाको स्याहार उचित मात्रामा गर्नुपर्दछ ।
आँखामा देखिने विभिन्न समस्याहरुमध्ये आँखा पाक्ने समस्या एक प्रमुख समस्या हो । सामान्यतयाः बाह्रैै महिना देखिएता पनि गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ । गर्मीमा बढी ब्याक्टेरिया वा थायोसाइसको असर बढी हुनुका साथै बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो ब्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिन्छ । तर, दैनिक क्रियाकलापमा अलिकति परिवर्तन ल्याइ सजग भएको खण्डमा मात्रै पनि यो समस्याबाट बच्न सकिन्छ ।
किन पाक्छ आँखा ?
आँखा पाक्ने रोग एक किसिमको सरुवा रोग हो । जसकारण यो एक ब्यक्तिबाट अर्काेमा सर्ने पनि हुन्छ । आफूबाहेकका अन्य ब्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक ब्यक्तिबाट अर्काेमा सर्ने हुन्छ । यस्तै, आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ । डाक्टरको सल्लाहबिना नै विभिन्न किसिमका कस्मेटिक लेन्सहरुको प्रयोग र ब्याटेरिया तथा भाइरसको संक्रमणको कारण पनि आँखा पाक्ने रोग लाग्दछ ।
आँखा पाक्ने रोगका लक्षण
आँखा रातो हुनु, आँसु आइरहनु ,आँखा पोल्नु ,कचिरा आउने तथा आँखा बिझाएजस्तो हुनु, घाममा हिड्न गाह्रो हुनु, उज्यालोमा हेर्न नसकिनु ,आँखा सुख्खा भएर चिलाउनु, दृष्टि धमिलिदै जानु, आँखा तथा आँखा वरपर को भाग सुन्निनु ।
उपचार तथा बच्ने उपाय
यो रोग सरुवा रोग भएकोले जुनसुकै ब्यक्तिबाट जो कोहीलाई पनि सर्न सक्ने हुन्छ । सुरुवाती दिनमा यो रोगले खासै समस्या नपारेता पनि उचित समयमा उचित उपचार नगरेको खण्डमा यसबाट ब्यक्तिको आँखाको ज्योती नै गुम्न सक्ने डर हुन्छ ।
सकेसम्म बिरामीको सम्पर्कबाट बच्ने आँखा सफा राख्ने आँखामा पानीले छ्याप्ने गर्नु हुँदैन् अरुको चश्मा तथा लेन्सको प्रयोग नगर्ने जथाभावी औषधिको प्रयोग नगर्ने आँखाको सरसफाइमा विशेष ध्यान दिने फोहोर हात वा हात नपखाली आँखा नमाड्ने आँखा सम्बन्धि केही समस्या परेमा तुरुन्त डाक्टरसँग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्ने ।