३० फाल्गुन २०७९, मंगलवार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीहरुको भेटमा प्रधानमन्त्री दाहालले समस्या समाधान गर्ने आश्वासन दिएपछि व्यवसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।
बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार सङ्घ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए ।