२ चैत २०७९ बिहीबार
प्रदिप गुप्ता
नेपालगञ्ज—उपभोक्ता संरक्षणको सवालमा काम गर्दै आइरहेका विभिन्न सरोकारवालाहरुले उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्न सरकारसंग माग गरेका छन्।
विश्व उपभोक्ता दिवसको अवसरमा नेपालगञ्जको त्रिभुवन चोकमा आयोजित कार्यक्रममा उनीहरुले उपभोक्ताहरुको अधिकार सरकारले प्रष्ट पार्नु पर्ने माग गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता संरक्षण समिति महासंघ बाँकेका अध्यक्ष डा.बिनोद कर्णले उपभोक्ता अधिकारको सवालमा सरकार गम्भीर बन्नु पर्ने बताए।
उनले उपभोक्ताहरुले राज्यका हरेक सेवा प्र्रदायक निकायबाट अझै पनि प्रभावकारी सेवा प्राप्त गर्न नसकिरहेको भन्दै उपभोक्ता मैत्री सेवामा ध्यान दिन सरकारसंग आग्रह गरे ।
उपभोक्ताहरुलाई हरेक पूर्वाधार विकाससंग जोड्नु पर्ने बताउदै अध्यक्ष कर्णले तीनै तहका सरकारले स्पष्ट उपभोक्ता नीति बनाएर त्यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा आई.एच.आर.सी .बाँकेका अध्यक्ष एंव अधिवक्ता विश्वजीत तिवारीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताए।
सेवा दिने निकाय, उद्यमी, व्यवसायी लगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्ने वातावरण निर्माण गर्न सरकारसंग आग्रह गरे ।
उपभोक्ता मञ्च नेपाल बाँकेका अध्यक्ष सुदीप भट्टराईले उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्ने बताए।
स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको उपभोग गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउदै उनले त्यसको समुचित व्यवस्था गर्नु पर्ने बताए। दिवसका अवसरमा दीप प्रज्जवलन समेत गरिएको थियो ।