३ चैत्र २०७९, शुक्रबार
काठमाडौं । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो (कार्यकालको हिसाबले चौँथो) राष्ट्रपति बनेका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनीसँगै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झा उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका थिए ।
उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् । एमालेकी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २१६ गरी कूल १६ हजार ३२८ मत प्राप्त गरिन् भने जनमतकी झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरिन् ।
शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । उपराष्ट्रपति निर्वाचनमा कूल ८२९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ जना सांसदले मतदान गरेका थिए ।
संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरे भने प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरे।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको थियो।