३ चैत्र २०७९, शुक्रबार
दाङ – धुवाँले निस्सासिएर दाङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ का ४० वर्षीया पार्वती घर्ती रहेको प्रहरीले जनाएको छ ।
पाताले छाएको एक कोठे घरमा बिहिवार राती सुतेको अवस्थामा आगलागी हुँदा धुवाँले निस्सासिएर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए । मृतकको शरीरमा भने कतै जलेको घाउखत छैन ।
प्रहरी प्रवक्ता गौतमका अनुसार चुरोट खाएर फालेको ठुटाले सिरक वा डसनामा आगो सल्किएर कोठामा धुवाँ भरिएको थियो । सो क्रममा ढोका खोल्न प्रयास गरे पनि नसकेर ढोका नजिकै ढलेको अवस्थामा शव फेला परेको उनको भनाई छ ।
शुक्रबार बिहान स्थानीयले धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घरमा एक्लै बस्दै आएकी थिइन् । उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।