८ चैत २०७९ बुधबार
युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
यद्यपि, ‘पश्चिम र किएभ’ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ।रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए।
गत महिना प्रकाशित चीनको योजनाले रुसी सेनालाई युक्रेनी भूभाग छोड्न स्पष्ट आह्वान गरेको छैन।बाह्र बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष सर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ।युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नु पर्ने बताएको छ। तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमवार ‘युक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्याउने’ बताएका थिए।सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने: “चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ।”
तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो ‘तत्परता’ देख्न नसकेको उनले बताए।बिबिसी