प्रदीप गुप्ता
९ चैत २०७९ बिहीबार
नेपालगञ्ज—सामुदायिक वनको काठ हिनामिना गरेको आरोपमा बाँके प्रहरीले वनका अध्यक्ष सहित आठ जनालाई पक्राउ गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वनको घाटगद्दीमा रहेको करिब ५२ लाख मूल्य बराबरको काठ हिनामिना गरेको आरोपमा सोही वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो।सोही ठाउँका स्थानीयले काठ हिनामिना गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले उनीहरुलाई पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो ।
पक्राउ पर्नेमा सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारु रहेका छन् ।
उनीहरु सबैलाई वन कार्यालयको हिरासतमा राखिएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बताए ।उनीहरुले साल, अस्ना, कर्मा, जामुन, शिरिष लगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ ।आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ ।