अरुणकुमार नेपाली
९ चैत २०७९ बिहीबार
दाङ—दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका हुन ।
स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतपरिणाम अनुसार बिजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सवैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययनरत क्याम्पसको स्ववियु सभापतिमा बिजयी भएका हुन । पराजित महराले ६ सय २० मत मात्रै प्राप्त गरे ।
क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्टिय जनमोर्चा निकट अखिल छैठौले तालमेल गरेका थिए । त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसीले एक सय २४ मत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८ मत, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले एक सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी)का सेवक भट्टराईले ४५ मत प्राप्त गरे ।