९ चैत्र २०७९, बिहीबार
काठमाडौं । भारतमा लगेर जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाहरुको उद्धार गरिएको छ ।बिहीवार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो ।
उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखन बिरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारवाहीमा उद्धार गरिएको हो।यसलाई मिसन फ्ल्याट नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका ती महिलाहरुलाई उद्धार गरी मानव बेचबिखन बिरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो ।यौन धन्धामा लगाइएका महिलाहरुको उमेर १५ देखि २५ वर्षसम्म रहेको छ ।नुवाकोट, काठमाडौं, काँस्की, खोटाङ लगायत जिल्लाका महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारत पुर्याएर यौन धन्धा गर्न बाध्य पारिएको थियो । उद्धार गरिएकी मध्ये एक महिलाले आफूलाई राम्रो जागिर लगाइ दिने भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लगाईएको बताइन ।
मिसन फ्ल्याटका बारेमा बताँउदै नेपाली राजदुतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दुतावासमा आफूलाई प्राप्त भएपछि खोजिका लागि शक्ति समूह, कीन इण्डिया र स्थानिय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये १ जना युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी ३ जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रुपमा गरिएको कारवाहीमा हराएका २ जनासहित थप ७ जना नेपालीहरु फ्ल्याटबाट फेला परेको बताउए ।
कीन इण्डियाका प्रमुख नविन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनिहरुलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजिपछि महिलाहरुको उद्धार गर्न सकिएको बताउनु बताए । प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीहरुले भारतमा राम्रो तलवमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरुलाई दिल्ली पुर्याउने गरेको र दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनिहरुलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलेको छ ।