प्रदीप गुप्ता
११ चैत २०७९ शनिवार
नेपालगञ्ज—नेकपा माओवादी केन्द्र बाँकेले पार्टीको दुई महिने संगठन शुद्धिकरण तथा विस्तार अभियानलाई तीव्र बनाएको छ।पार्टी केन्द्रीय समितिले संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेसंगै बाँकेमा पनि कार्यक्रमलाई तीव्रता दिइएको हो ।
अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका वडाहरुमा कार्यक्रम गरिएको छ । २३ वडामध्ये अहिलेसम्म १३,१५,१६र १७ गरी ५ वडा वडाहरुमा कार्यक्रम सम्पन्न भएका छन् । बाँकी वडाहरुमा केही दिनमै कार्यक्रम गरिने बाँके पार्टी कमिटीले जनाएको छ ।
माओवादी केन्द्र बाँके जिल्ला समन्वय समिति सदस्य एंव नेपालगञ्ज उपमहानगरपालिकाका उपाध्यक्ष तारा प्रसाद खत्रीका अनुसार उपमहानगरपालिका अन्तर्गतका सबै वडाहरुमा अभियान चलाईने भएको छ ।
पार्टी संगठनलाई सुदृढ र चलायमान बनाउने अभियान अनुसार नै कार्यक्रमहरु अघि बढाईएको खत्रीले बताए ।अब आउने निर्वाचनमा बाँकेका सबै स्थानीय तहमा जित निकाल्ने गरी पार्टीले संगठन विस्तार र शुद्धिकरणको अभियानलाई व्यापक रुपमा सञ्चालन गर्ने खत्री बताए ।
कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला स्तरका नेतासंगै कार्यकर्ताहरु परिचालन गरिएको छ ।पार्टीका जिल्ला समन्वय समिति सदस्य मोहनलाल सोनखर,सचिवालय सदस्य तथा पार्टी नेता बसन्त लामिछाने लगायतका नेताहरुको अगुवाईमा कार्यक्रम सञ्चालन भइरहेका छन् ।