५ बैशाख २०८०, मंगलवार
सर्लाही — सर्लाहीको लालबन्दीमा ठूलो परिमाणमा नक्कली नोट फेला परेको छ । मंगलबार बिहान लालबन्दी नगरपालिका– ७, स्थित लालबन्दी जब्दी सडक छेउबाट प्रहरीले ती नोट फेला पारेको हो । फेला परेका ति नोट प्रहरीले बरामद गरेको छ ।
एक हजार दरका पाँच सय ३० थान (पाँच लाख तीस हजार) नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। फालेको अवस्थामा स्थानीयले कालो ब्यागमा पैसा देखेपछि लालबन्दी प्रहरीलाई खबर गरेका थिए ।घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले उक्त नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उक्त नक्कली नोट कहाँबाट कसले ल्याएर बजार छेउमा किन फालेर भाग्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरि प्रमुख प्रहरी नायब उपरीक्षक सान्तराम कार्कीले जानकारी दिए । सर्लाही जिल्लामा पछिल्लो समय पाँच सय र एक हजार दरका नक्कली नोट निरन्तर फेला परिरहेको छ । गत एक महिनाको अन्तरमा जिल्लाका विभिन्न स्थानबाट साढे आठ लाखको हाराहारीमा नक्कली नोट बरामद भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
आपराधिक घटनामा संलग्नहरूले आपराधिक क्रियाकलाप प्रयोजनका लागि यस्ता पैसा ल्याएको हुन सक्ने सर्लाही प्रहरीको भनाइ छ । सर्लाही प्रहरीले पछिल्लो समय मिसनकै रूपमा नक्कली नोट कारोबार गर्ने गिरोहको पहिचान र खोजी सुरु गरेका कारण यसरी पैसा फालेर भाग्ने कार्य भएको प्रहरी उपरीक्षक सुवेदीले बताए।
जिल्लामा नक्कली नोट पटक–पटक बरामद भए पनि यस्तो नोट बाहिरबाट ल्याउने गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सुवेदीले बताए ।