
चितवन — चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ।
जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीका अनुसार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको हो। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने अडान राखेका थिए।
१ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ। लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो।
