१३ जेठ २०८० शनिबार
काठमाडौं —नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन्।शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले नक्कली भुटानी शरणार्थीको प्रकरण लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए।
उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गरे। उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए। पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए।
उनले भने, ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ। संलग्न देखिएका मानिसलाई धिक्कार छ। यो लज्जास्पद छ। यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रूपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन्। आन्दोलनको सम्भावना छ। यो आजको सरकार र प्रहरीले सुनोस्।’
पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताए। उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए।
फरक प्रसंगमा उनले पशुपतिनाथको जलहरी पित्तलको बनाइएको प्रकरण बाहिरिएको भन्दै यसबारेमा विशेष अनुसन्धान हुन जरुरी रहेको बताए।