१४ जेठ २०८० आइतबार
विराटनगर— कोशी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको छ।विराटनगरस्थित प्रदेशसभा अगाडि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडप भएको हो।
प्रदेशसभा भवन अगाडि प्रहरीले रोकेपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ भने लाठी चार्ज भने भएको छैन। झडपको अवस्थालाई मध्यनजर गर्दै बाक्लो मात्रामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।
प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेपछि प्रदेश सभा र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारेको छ । कोशी प्रदेश सभाको बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम राखेपछि पहिलोपटक बैठक बस्न लागेको हो ।