१५ जेठ २०८० सोमबार
दाङ— आगामी आर्थिक वर्षको बजेटमा आफना माग सम्बोधन नभएको प्रति नेपाल विद्यालय कर्मचारी परिषदले आपत्ति जनाएको छ ।
परिषदले विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको विषयमा कुनै प्रकारको सम्बोधन नभएको भन्दै आपत्ति जनाएको हो ।सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महत्तले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट संघीय संसदमा घोषणा गरेका छन् ।उक्त बजेटमा विद्यालय कर्मचारीहरुको सेवा,सुविधा र सर्त सम्बोधन नभएपछि परिषदले गम्भिर आपत्ति जनाएको छ ।
बजेट अघि सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीहरुको माग सम्बोधन गरिने उल्लेख छ ।नीति तथा कार्यक्रमको १२७ नम्बर बुँदामा सामुदायिक विद्यालय कर्मचारीहरुको माग सम्बोधन गर्ने कुरा उल्लेख छ ।नीति तथा कार्यक्रममा समावेश गरिएको कुरा बजेटमा नआउनु आपत्तिजनक भएको परिषदले जनाएको छ ।परिषदले नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न माग गरेको छ ।
अन्यथा माग सम्बोधन नभए कडा आन्दोलनमा जाने विद्यालय कर्मचारी परिषदले चेतावनी दिएको छ । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वंयमले लिनु पर्ने परिषदले जनाएको छ ।
