प्रदीप गुप्ता
२२ जेठ २०८० सोमबार
बाँके—बाँकेमा तापक्रम नघटेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा दिएको गर्मी विदा लम्बाएको छ ।
नगरपालिकाले सोमबार सूचना जारी गर्दै गर्मी अत्यधिक बढेका कारणले पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा पर्ने सक्ने प्रतिकूल असरलाई मध्यनजर गरी पुनः तीन दिन विदा थप गरिएको जनाएको छ ।
यस अघि उपमहानगरपालिकाले जेठ २१ देखि २३ गतेसम्म आफ्नो क्षेत्र भित्रका सबै संस्थागत र सामुदायिक विद्यालयमा वर्षे विदाबाट कट्टी हुने गरी गर्मी विदा दिएको थियो । तर मौसममा कुनै परिवर्तन नआएकाले जेठ २६ गतेसम्म पुनः गर्मी विदा दिइएको नगरपालिकाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले अझै केही दिन तराईका जिल्लामा तातो हावा सहितको लु चल्ने सम्भावना रहेको जनाएपछि विद्यार्थीहरुलाई त्यसबाट बचाउन धेरै जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी विदा दिइएको छ ।
जल विज्ञान तथा मौसम विज्ञानका अनुसार बाँकेको तापक्रम ३८ देखि ३९ डिग्रीसम्म पुगेको छ ।