२९ जेठ २०८० सोमबार
नेपालगञ्ज—ईलाका प्रहरी कार्यालय भवानीपुर बाँकेको नव निर्मित कार्यालय भवन तथा व्यारेकको उद्घाटन गरिएको छ ।
कार्यालयको हाता भित्र निर्मित भवनको सोमबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले उद्घाट्न गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्ने बताए ।
प्रहरी नायव महानिरीक्षक जोशीले अहोरात्र ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए।
प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोश र ऊर्जाका साथ नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
नरैनापुर गाऊँपालिका अध्यक्ष (प्रमुख) ईस्तियाक अहमद साहले नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने हुँदा पहिला प्रहरी नै सुरक्षित हुनु पर्ने बताए ।
लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका सुर्खेत हाल (नेपालगंज) प्र.ब.उ. डिल्लिराज बिष्ट, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका डा.प्र.ब.उ.अमिन कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.उ.सन्तोष सिंह राठौर र लुम्बिनी प्रदेश प्रहरी गण खजुराका प्र.उ. तुल बहादुर कार्की लगायत सिनियर प्रहरी अधिकृत, स्थानिय जनप्रतिनिधी,समाजसेवी, सञ्चारकर्मी तथा स्थानिय बुद्धिजीविको उपस्थिति रहेको थियो ।



