३० जेष्ठ २०८०, मंगलवार
धनकुटा — बालविवाह गरेको आरोपमा प्रहरीले दुई जना बालबालिका र विवाह गराउन सहयोग गरेको आरोपमा एक जना गरी तीन पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–४ देब्रवासका १९ वर्षीय बेहुला नरेश मङराती, धनकुटा नगरपालिका–६ कचिडेकी १५ वर्षीया बेहुली मिना खड्का ९नाम परिवर्तन० र धनकुटा नगरपालिका–४ देब्रेवासका बेहुलाका बाबु ४० वर्षीय कृष्ण मङराती रहेका छन्।
बलबालिकाहरू परिवारको सल्लाहमा सोमबार विवाह गराइदिएको सूचनाका आधारमा प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए। डीएसपी कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन अनुसार प्रक्रिया अघि बढाइने जानकारी दिए। मंगलबारदेखि अदालती प्रक्रिया अघि बढ्ने र यस घटनामा अभिभावकहरू पनि अनुसन्धानको दायरामा पर्ने उनको भनाइ छ।
बेहुली पक्षले कम उमेर भएका कारण विवाह नगर्न दबाब दिए पनि केटाकेटीले भागेर विवाह गरेको जनाएको छ। बेहुलीका बाबु ४५ वर्षीय आशिक खड्काले गत वैशाख १ गते भागेर अन्तर्जातीय विवाह गरेको बताए। उनले सम्झाइ बुझाइ गर्दा पनि केही नलागेपछि छोडेको बताए।